लगातार चौथो दिन घट्यो सेयर बजार, नेप्से २७०५ अंकमा झर्‍यो

लगातार चौथो दिन घट्यो सेयर बजार, नेप्से २७०५ अंकमा झर्‍यो

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम मंगलबार पनि जारी रह्यो। लगातार चौथो कारोबार दिन नेप्से परिसूचक घट्दा बजार २७०५ अंकमा झरेको छ।

अघिल्लो कारोबार दिन १२.२६ अंकले घटेको नेप्से मंगलबार थप ६.३१ अंकले ओरालो लागेको हो। यसअघि बिहीबार ८ अंक र शुक्रबार ४ अंकले बजार घटेको थियो। कारोबार सुरु हुँदा हरियो देखिएको बजार केही मिनेटमै नकारात्मक बनेको थियो। दिनभरको कारोबारका क्रममा दिउँसो १२ः५३ बजे नेप्से परिसूचक २७०१ अंकसम्म झरेको थियो।

आज कारोबार रकम पनि घटेको छ। सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ४ करोड रुपैयाँमा सीमित रह्यो। कारोबारमा सहभागी २७२ कम्पनीमध्ये ७३ कम्पनीको शेयर मूल्य बढ्दा १९३ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचकतर्फ व्यापार समूह ०.३१ प्रतिशतले बढेको छ। यद्यपि अधिकांश समूहमा गिरावट देखिएको छ। बैंकिङ ०.३२, विकास बैंक ०.४२, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.१६, जलविद्युत् ०.२८, लगानी ०.२०, उत्पादन तथा प्रशोधन ०.१४, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.४० तथा अन्य समूह ०.०६ प्रतिशतले घटेका छन्।

आज नवसूचीकृत दुई कम्पनीको शेयर मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। यससँगै सोपान फर्मास्युटिकल्सको प्रतिकित्ता मूल्य ७०३ रुपैयाँ १० पैसा र एपोलो हाइड्रोपावरको ६०२ रुपैयाँ ४० पैसा पुगेको छ।

त्यस्तै, दोल्ती पावरको शेयर मूल्य ६.३४ प्रतिशत, बुंगल हाइड्रोको ५.५१ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको ४.२२ प्रतिशतले बढेको छ।

गिरावटतर्फ सयपत्री हाइड्रोपावर ४.९० प्रतिशत, युनिक नेपाल लघुवित्त ४.०३ प्रतिशत, कालिन्चोक हाइड्रोपावर ३.५४ प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्स ३.४१ प्रतिशतले घटेका छन्।