

काठमाडौं । एसियन गेम्स क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि १६७ रनको शानदार जित निकाल्दै समूह विजेताका रूपमा प्रतियोगिता टुंग्याएको छ।
सिंगापुरमा सम्पन्न खेलमा नेपालले दिएको २७७ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो।
मलेसियाका लागि कप्तान सय्यद अजीजले सर्वाधिक ५४ रन बनाए। सार्विन मुनियान्दीले १८ तथा मुहम्मद हजिजले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
मलेसियालाई कम स्कोरमा समेट्न नेपालका शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट हात पारे।
यस जितसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ। पराजित भए पनि मलेसियाले एसियन गेम्समा स्थान सुरक्षित गरिसकेको छ। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल तयार गरेको थियो।
नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल चम्किए। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १२६ रनको विस्फोटक शतकीय पारी खेले। ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो तेस्रो शतक हो।
त्यस्तै, आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन जोडे। मलेसियाका लागि विरनदीप सिंहले ३ विकेट लिए भने सय्यद अजीज र विजय उन्नीले समान २–२ विकेट हात पारे।