

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको उच्च योगफल तयार गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार शतकीय इनिङ्स खेले। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १२६ रन बनाए। ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो तेस्रो शतक हो।
त्यस्तै, आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रनको विस्फोटक पारी खेले। दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन जोडे। बलिङतर्फ मलेसियाका विरनदीप सिंहले ३ विकेट लिए भने सिद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।
नेपाल र मलेसिया दुवै टोली यसअघि नै आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन्। आजको खेलले समूह विजेताको टुंगो लगाउनेछ।