समूह विजेताको लक्ष्यसहित आज मलेसियासँग नेपालको भिडन्त

समूह विजेताको लक्ष्यसहित आज मलेसियासँग नेपालको भिडन्त

काठमाडौं । एसियाली खेलकुद पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। लगातार दोस्रो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिनेछ।

सिंगापुरस्थित सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ। आजको खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लगाउनेछ। खेल जित्ने टोली समूह विजेता तथा पराजित टोली उपविजेता बन्नेछ।

समूह चरणको पहिलो खेलमा दुवै टोलीले चीनलाई पराजित गरेका थिए। नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले हराएको थियो भने मलेसियाले नौ विकेटको सहज जित निकालेको थियो।

नेपाल र मलेसिया दुवैले यसअघि नै एसियाली खेलकुदमा स्थान सुनिश्चित गरिसकेका छन्। त्यसैले आजको खेल समूहको शीर्ष स्थानका लागि महत्वपूर्ण मानिएको छ।

नेपाल र मलेसियाबीच हालसम्म १० वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले नौ खेलमा जित हासिल गरेको छ भने मलेसियाले एक खेल मात्र आफ्नो पक्षमा पारेको छ। यसअघिको खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली आज पनि त्यही लय कायम राख्दै समूह विजेताको रूपमा प्रतियोगिता टुङ्ग्याउने लक्ष्यमा रहनेछ।