विराटको अविजित ७५ रनमा आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

विराटको अविजित ७५ रनमा आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलुरुले आईपीएल २०२६ को उपाधि जित्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने कीर्तिमान बनाएको छ। फाइनलमा गुजरात टाइटन्स लाई पाँच विकेटले पराजित गर्दै बेङ्गलुरुले उपाधि रक्षा गर्न सफल भयो।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम मा आइतबार सम्पन्न फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो।

गुजरातका लागि वासिङ्टन सुन्दर ले अविजित अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्‍याए। उनले ३७ बलमा ५० रन बनाए। यस्तै निशान्त सिन्धु ले २०, जोस बटलर ले १९ तथा अर्शद खान ले १५ रन जोडे।

गुजरातका प्रमुख ब्याटर शुभमन गिलसाई सुदर्शन भने फाइनलमा प्रभाव जमाउन सकेनन्। गिल १० र सुदर्शन १२ रनमा आउट भए। आरसीबीका लागि रसिख सलाम डार ले ३ विकेट लिए भने जोश हेजलउडभुवनेश्वर कुमार ले समान २–२ विकेट लिए। क्रुणाल पाण्ड्या ले १ विकेट हात पारे।

१५६ रनको लक्ष्य पछ्याएको आरसीबीले आक्रामक सुरुआत गर्यो। वेंकटेश अय्यरविराट कोहली ले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरे। अय्यर १६ बलमा ३२ रन बनाएर आउट भए।

त्यसपछि देवदत्त पडिक्कल १, कप्तान रजत पाटीदार १५ तथा क्रुणाल पाण्ड्या १ रनमै पेभिलियन फर्किए। केही समय दबाबमा देखिएको आरसीबीलाई कोहलीले सम्हाले। कोहलीले टिम डेभिड सँग चौथो विकेटका लागि महत्वपूर्ण ४१ रनको साझेदारी गरे। डेभिड २४ रनमा आउट भए पनि कोहली अन्तिमसम्म टिकिरहे।

२५ बलमै अर्धशतक पूरा गरेका कोहलीले ४२ बलमा ७५ रनको अविजित इनिङ्स खेले। उनले ९ चौका र ३ छक्का प्रहार गरे। १८औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले आरसीबीलाई जित दिलाए। जितेश शर्मा ११ रनमा अविजित रहे।

२०२५ मा पहिलो पटक आईपीएल उपाधि जितेर १८ वर्षको प्रतीक्षा अन्त्य गरेको आरसीबीले २०२६ मा लगातार दोस्रो पटक ट्रफी उचाल्दै आफ्नो सफल यात्रालाई थप ऐतिहासिक बनाएको छ।