

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स बीच अहमदाबादमा हुँदैछ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम मा हुने फाइनल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । दुवै टोली दोस्रो पटक आईपीएल उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन् ।
बेंगलुरुले गत सिजन पहिलो उपाधि जितेको थियो भने गुजरात टाइटन्सले सन् २०२२ को डेब्यू सिजनमै च्याम्पियन बनेर सनसनी मच्चाएको थियो । फाइनललाई तथ्याङ्कीय हिसाबले पनि रोचक मानिएको छ। विगत ८ सिजनको इतिहासअनुसार क्वालिफायर–१ जित्ने टोलीले नै उपाधि जित्दै आएको रेकर्ड छ, जसले बेंगलुरुको आत्मविश्वास बढाएको छ।
त्यस्तै, पछिल्ला १८ वर्षमा फाइनलमा २०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याउने (चेज गर्ने) टोली नभएकाले ठूलो स्कोर खडा गर्ने रणनीति निर्णायक हुने देखिन्छ ।
हेड–टु–हेड तथ्याङ्कमा पनि बेंगलुरु केही अगाडि छ। हालसम्म भएका ९ भेटमध्ये बेंगलुरुले ५ खेल जितेको छ। यद्यपि यस सिजनको लिग चरणमा दुवै टोलीले एक–एक खेल जितेका थिए ।
खेलाडी प्रदर्शनतर्फ गुजरातका कप्तान शुभमन गिल ले १५ खेलमा ७२२ रन बनाएका छन् भने साइ सुदर्शन ले ७१० रन जोडेका छन् । बेंगलुरुका लागि विराट कोहली ले ६०० भन्दा बढी रन बनाएका छन् भने रजत पाटीदार ले ४८६ रनको योगदान दिएका छन् ।
बलिङतर्फ गुजरातका कागिसो रबाडा २८ विकेटसहित शीर्षमा छन् भने बेंगलुरुका भुवनेश्वर कुमार २६ विकेटसहित उनलाई पछ्याइरहेका छन् । गुजरातका मुख्य बलर मोहम्मद सिराज लाई चोटको समस्या देखिएकाले टोलीमा केही चिन्ता थपिएको छ । आजको खेलमा दुवै टोली बलियो प्लेइङ–११ सहित मैदानमा उत्रिने तयारीमा छन्, जहाँ ब्याट्सम्यान र बलरबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।