

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसियन गेम्स खेल्ने सपना अधुरै बनेको छ । एसियन गेम्स छनोटअन्तर्गत तेस्रो स्थानका लागि भएको निर्णायक खेलमा चीनसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
मलेसियास्थित वायोमास ओभल मा आइतबार बिहान सम्पन्न खेलमा नेपाल डीएलएस (डकवर्थ–लुइस–स्टर्न) विधिअनुसार ५ विकेटले पराजित भयो । यससँगै जापानमा हुने आगामी एसियाली खेलकुदमा छनोट हुने नेपालको अन्तिम अवसर पनि समाप्त भएको छ । नेपाललाई हराउँदै चीनले भने एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरेको छ ।
वर्षाका कारण प्रभावित खेल ७ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङ गरेको नेपाल राष्ट्रिय महिला क्रिकेट टोली ले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो । वर्षाका कारण डीएलएस विधिअनुसार चीनले ४३ रनको लक्ष्य पाएको थियो ।
चीनले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेको अवस्थामा काई युझीले चौका प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाइन् ।
चीनका लागि मिङयु झुले सर्वाधिक १८ रन बनाइन् । अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नेपालका लागि रिया शर्मा ले २ विकेट लिइन् भने दुई खेलाडी रनआउट भएका थिए ।
यसअघि नेपालको इनिङ्समा कविता कुँवर २२ रनमा अविजित रहिन् । उनले १० बलमा एक चौका र एक छक्का प्रहार गरिन् । रुविना क्षेत्री ३ रनमा नटआउट रहिन् । कप्तान इन्दु बर्मा ले ११ रन बनाइन् भने उपकप्तान पूजा महतो १ रनमै आउट भइन् । सम्झना खड्का ले ५ रन बनाउँदा रुबी पोदार खाता खोल्न सकिनन् । सोनी पाख्रिन ५ रनमा रिटायर्ड आउट भएकी थिइन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिम क्षणमा हार बेहोरेसँगै नेपाल एसियन गेम्स छनोटबाट बाहिरिएको छ भने चीनले ऐतिहासिक रूपमा एसियाली खेलकुदको यात्रा तय गरेको छ ।