कात्तिक ९ र १० मा पण्डित सम्मेलन

कात्तिक ९ र १० मा पण्डित सम्मेलन

काठमाडाैं, ६ कार्तिक । धर्मसभाले कात्तिक ९ र १० गते राजधानीमा पाँचौँ पण्डित सम्मेलन गर्ने घोषणा गरेको छ । सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढी व्यक्तिको उपस्थिति हुने कार्यक्रम संयोजक पवित्रबहादुर खड्काले बताउनुभयो ।

सम्मेलनमा भाग लिन भारतबाट समेत ३० जना पण्डितको समूह आउने जनाइएको छ । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

सम्मेलनमा नेपालको धार्मिक तथा सामाजिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय, धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्थाको चिरफार र चौथो पण्डित सम्मेलनको समीक्षा गरिनेछ । सहभागीले उठाउने धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद्ले गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।

काजक्रिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणका उपायका बारेमा सम्मेलनमा छलफल गरिने आयोजक समितिका सदस्य कृष्णप्रसाद खनालले बताउनुभयो ।

बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको जनाइएको छ ।