

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन पानी पर्छ वा मौसम सफा हुन्छ भन्नेबारे अहिले नै निश्चित पूर्वानुमान गर्न नसकिने जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।
निर्वाचनको समयमा मौसम कस्तो रहनेछ भन्नेबारे विभिन्न निकायबाट जिज्ञासा आए पनि विभागले तीन साता पछाडिको दैनिक मौसम पूर्वानुमान वैज्ञानिक रूपमा सम्भव नभएको स्पष्ट पारेको छ।
विभागले जारी गरेको विज्ञप्तिमा नियमित रूपमा दैनिक तीन दिनसम्मको मौसम पूर्वानुमान तथा विशेष परिस्थितिमा पाँचदेखि सात दिनसम्मको पूर्वानुमान उपलब्ध गराउने गरिएको उल्लेख छ। एक महिना अगावै कुनै निश्चित दिनको दैनिक मौसम अवस्थाबारे ठोस पूर्वानुमान गर्न नसकिने विभागको भनाइ छ।
तर, विश्वव्यापी प्रारूपहरूको आधारमा प्राप्त मासिक पूर्वानुमानअनुसार फेब्रुअरी महिनामा वर्षा सरदरभन्दा कम र मार्चमा सरदर हुने सम्भावना रहेको विभागले जनाएको छ। साथै, फेब्रुअरी र मार्च महिनामा तापक्रम भने सरदरभन्दा बढी रहने सम्भावना रहेको उल्लेख गरिएको छ।