दशैँका दश दिन: कुन-कुन देवीको पूजा गरिन्छ ? हेर्नुहोस्

दशैँका दश दिन: कुन-कुन देवीको पूजा गरिन्छ ? हेर्नुहोस्

हिन्दूधर्मको महान चाड हो दशैँ । दशैँ दश दिन मनाउने पर्व भनेर बुझ्न सकिन्छ । दशैँको सरुवात आश्विन शुक्ल प्रतिपदा देखि हुन्छ, अर्थात भोलीबाट दशैँ सुरू हुन्छ । जसलाई नवरात्र (नवरथा) पनि भन्ने गरिन्छ । प्रतिपदाको देखिनै घर–घरमा जमरा (जवँरा) राखि दुर्गा भगवतिको नौ रुपको पूजा आराधना गर्ने गरिन्छ । दूर्गाको पूजा गर्नाले शक्ति प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

जमरा राख्दा सप्तधान छर्ने गरिन्छ । जमराको रस स्वास्थ्यको लागि पनि उपयोगी मानिन्छ । देवीभागवत अनुसार– सीता वियोगमा सन्तप्त्त रामलाई नारदमुनिले आएर नवरात्रको उपासनाले उनको सम्पूर्ण कष्ट हरण हुने कुरा व्यक्तगरे र रामलाई आश्विनको नवरात्रको व्रत गर्ने प्रेरणा दिए ।

“व्रतं कुरुष्व श्रद्धावानाश्विने मासि साम्प्रतम्” आश्विनको व्रतको प्रभावले नै हजुरले रावण लाई जित्न सक्नुहुने छ । नवदुर्गाको उपासनाले शक्ति संचय हुनुका साथै आत्मवल प्राप्ति हुन्छ ।

तेसैले हे राजेन्द्र हजुरले रावण वधको लागि नवरात्र व्रत गर्नुस– “तस्मात्वं कुरु राजेन्द्र रावणस्य वधाय च” नारदको वचनबाट प्रेरित भएर श्रीरामले नवरात्रको सबिधि व्रत गरे । व्रतको शक्ति संचयको प्रभावले रामचन्द्र भगवानले रावण माथि विजय हासिल गरे । दुष्ट सक्तिमाथि विजय हासिल गरेको हुनाले विजया दशमीको रुपमा मनाउन थालियो ।

दशैँको पहिलो दिन

प्रतिपदाका दिन जमरा राखि सुरुहुने दशैँको पहिलो दिन धरको सरसफाई गरेर जवँरा राखी दूर्गा भगवतिको पहिलो रुप शैलपुत्री को पुजागर्ने गर्ने गरिन्छ । दशैँको पहिलो दिन यिनको पूजा आराधना गर्ने गरिन्छ । शैलपुत्रीको पूजाले धैर्य, शहनशीलता ममता, करुण्यता पाईने र पृथ्वी तत्वको सन्तुलन शरीरमा रहने कुराको शास्त्रमा उल्लेख गरिएको छ । यसदिन पूजन पछि सेतो चिज तथा गाईको घ्यूले वनेको परिकार चढाउँनाले रोगबाट मुक्ति मिल्ने मानिएको छ ।

दोस्रो दिन
दशैँको दोस्रोदिन ब्रह्मचारिणीको पूजन गर्ने गरिन्छ । यिनले तपको आचरण गर्ने भएका कारण ब्रह्चारिणी भनिएको हो । पूर्वकालमा फल–फूल पात खाएर घोर तपश्या गरेर शिव भगवान लाई पतिरुपमा वरण गरेकी थिइन् । ब्रह्चारिणी शक्तिको पूजाले तेज, ब्रह्मज्ञान, सत्चरित्रको वरदान तथा जल तत्वको सन्तुलन शरीरमा हुने भएका कारण रक्त सम्बन्धी बिकार पैदा नहुने कुराको वर्णन पाईन्छ । पूजा पछि चीनी मिश्री र पञ्चामृत प्रशाद चढाउँनाले तथा दान गर्नाले दिर्घायु हुने मानिन्छ ।

तेस्रो दिन
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजागर्ने गरिन्छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुसोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो । यिनलाई बिर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुत प्रेत शक्तिबाट उन्मुक्ति पाउछ भनिएको छ । तेस्रो शक्तिको पूजा आरधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट प्रज्ञावान हुने मनिन्छ । यसदिन पनि पूजा पछि दूधवाट बनेको पदार्थ प्रशाद लगाउनाले सम्पूर्ण दुख नासहुने मानिएको छ ।

चौथो दिन
नवरात्रको चौथो दिन भगवतीको कूष्माण्डा नामले आरधना गर्ने गरिन्छ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको भनिएको छ । माताको निवास सूर्य मण्लमा रहेको छ भने सेतो कुभिण्डोको जस्तो रुपभएका कारण यिनलाई कूष्माण्डा भनिएको हो । पूजनपछि माल पूवाको प्रशाद चढाउँने र बाँढेर खानाले बुद्धि दिमाग तिब्रहुने भनिएको छ ।

पाँचौ दिन
पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने गरिन्छ । स्कन्दमाता देवताहरुका सेनापति कार्तिकेय कुमारकी माता भएका कारण स्कन्दमाता भनिएको हो । स्कन्दमाताको पूजा ले बच्चाहरुको संरक्षण हुने , तथा न्यालयमा बिजय प्राप्तिमा सहयोग हुने मानिन्छ । यिनको पाँचौ दिन पूजा गर्नाले काम, क्रोध, लोभ मोह शान्त हुने मानिन्छ । स्कन्दमाताको पूजाले आकाश तत्वको सन्तुलन हुन्छ । यसदिन देवीलाई केराको भोग लगाउने तथा प्रशाद बाँढेर खानाले बुद्धि विकाश हुने मनिएको छ ।

छैठौँ दिन
नवरात्रको छैठौँ दिन दूर्गाको कात्यायनी रुपको पूजन गर्ने गरिन्छ । महिषासुरको उत्तपातले आक्रान्त पृथ्वीको संरक्षणको लागि महर्षि कात्यायनको घरमा उत्पत्ती भएका कारण कात्यायनी भन्ने गरिन्छ । भगवान कृष्ण पति पाउन गोपी हरुले यिनै भगवतीको पूजा गरेका थिए । कात्यनीको पूजा गर्नाले कन्याहरुले आफूले चाहेको बर पाउने कुराको उल्लेख छ । माता कात्यायनी को पूजा गर्नाले भवन, भूमि, ऐश्वर्य मिल्ने हुन्छ भनिएको छ । कात्यायनीको पूजाले समस्त मानसिक , दैविक , दैहिक कष्ट नाश हुने र घरमा सुख, शान्ति प्राप्त हुने विश्वास रहीआएको छ ।

सातौँ दिन
नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आरधना गर्ने गरिन्छ । कालो स्वरुप भएकाकारण कालरत्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ । कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ । यसदिन घरकोतमा फूल पाती पनि भित्राउने गरिन्छ ।

सप्तमीको दिन फूल पातीस्वरुप केरा, दारिम, धान हलेदो, माने, कर्चुर, वेल, अशोक, र जयन्ती नौ प्रकारका बस्तु हरु लाई बाजा बजाउँदै विधिवत लगेर घर भित्र अथवा कोट मन्दिर हरुमा भित्रयाउने गरिन्छ ।

आठौँ दिन
नवरात्रको आठौँ दिन महागौरीको आरधना गर्ने गरिन्छ । यसदिनलाई महा अष्टमी पनि भनिन्छ । महागौरि आठ वर्षको उमेरमै कठोर तपश्यामा लिन हुदाँ शरीर कालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएका कारण महागौरि भनिएको हो । यस दिन आफ्ना कुलदेवी कोत घरमा वलि पनि दिने प्रचलन छ तर वली अर्थ खासमा हिंसा भने होईन वली भनेको त निवेदन अथवा उपाहार हो ।

बलीभनेको मनुष्यमा रहेको काम, क्रोध लोभ, मोह अहंकर रुपी पशुलाई भगवतीको चरणमा अर्पण गर्नु भनिन्छ । यस दिन देवीको बाहन सिंहलाई विधिवत पूजन गर्ने र हात हतियार हरुको पूजा गर्ने प्रचलन पनि रहेको छ । महागौरिको पूजाको दिन नरिवलको प्रशाद लगाएर सबैलई बँढेंर खानाले सकल मनोरथ पुराहुने विश्वास छ ।

नवौँ दिन
दशैँको अधिल्लो दिन यानि नवरात्रको नवौं दिन भगवती दूर्गाको सिद्धिदात्री स्वरुपको पूजा गर्ने गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूको पूजा तथा विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नव कन्याहरूको पनि पूजाआजा गर्ने गरिन्छ । सिद्धिदात्रीको पूजाले मनको अहंकार मेटिन्छ भनिएको छ ।

यसै दिन पूजन पश्चात् देवीलाई सम्पूर्ण प्रकारको अन्न तथा हलुव, चना, पुरी, खीर, आदिका व्यञ्जनको भोग लगाएर गरीब दुखीलाई बाँट्नाले सबै प्रकारका कष्टको निवारण हुने बताइन्छ ।

दशौँ दिन
दशौँ दिनलाई दशैँ भन्ने गरिन्छ । नौ दिन सम्म गरिएको पूजा आरधनाको प्रसाद आर्शिवाद लिने दिनको रुपमा पनि दशैँलाइ चिनिन्छ । अश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन मनाइने भएको हुनाले दशैँ भनियो ।

यस दिन भगवन रामचन्द्रले नारदका उपदेश ले नवरात्रव्रत गरि रावण माथि विजय प्राप्त गरेकाले विजयादशमी भनिएको भन्ने पाईन्छ , नौ दिनसम्म गरेको पूजामा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न राता अक्षताका तीन थुप्रा बनाई मध्यमा अपराजिता देवी दाँया जया देवी र वाँया विजया देवीको यथाशक्ति पूजा र जमराको पूजा गरी अनि भगवती दूर्गा पितृ अन्य देवीदेवता चढाई त्यो टीका प्रसाद आफुभन्द ठुलाको हातबाट थाप्ने चलन रहेको छ ।

मान्यजनको अशीर्वादले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । टीका लगाउँदा आशिष दिने मन्त्र यस्तो छ :

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योेधने ।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस, भगवान् रामको जस्तो शत्रु नाश हुन, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।