

काठमाडाैं । मुस्ताङमा मङ्गलबार रातिदेखि विभिन्न स्थानमा भारी हिमपात भइरहेको छ। लगातारको हिमपातले जिल्लाका डाँडाकाँडा सेताम्मे भएका छन् भने अधिकांश क्षेत्रमा वर्षासमेत परेको छ।
भारी हिमपातका कारण कागबेनी–कोरला सडकखण्ड अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको जनाइएको छ। हिमपातसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने सम्भावना बढेको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले जानकारी दिएका छन्।
यसैगरी, सिमकोटस्थित रासस समाचारदाताका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट जिल्लामा पनि मङ्गलबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शंकर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा करिब एक फिट हिउँ जमेको छ।
हिमपातका कारण हवाई सेवा प्रभावित भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।
उता, बाजुराबाट प्राप्त विवरणअनुसार बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपातका कारण हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट तथा बुढीनन्दा नगरपालिकाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ।
वर्षासँगै भएको हिमपातले गहुँ बाली सप्रने सम्भावना बढेको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताएका छन्।