विधान मस्यौदा सुझावमाथि काङ्ग्रेसमा छलफल सुरु

विधान मस्यौदा सुझावमाथि काङ्ग्रेसमा छलफल सुरु

काठमाडौँ, १८ असोज । नेपाली काङ्ग्रेसको विधान मस्यौदा समितिले सातवटै प्रदेशबाट प्राप्त विधान संशोधनको मस्यौदा उपरका राय सुझावमाथि बिहीबारबाट छलफल सुरु गरेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको मस्यौदा समितिले यसअघि बुधबार सातैप्रदेशबाट प्राप्त राय सुझावको प्रतिवेदन उपर छलफल सुरु गरेको हो । छलफलका क्रममा उपयुक्त राय सुझावलाई समावेश गरि विधान मस्यौदालाई अन्तिम रुप दिने समितिको तयारी छ ।

विधान संशोधन मस्यौदामाथि राय सुझाव लिन सम्बन्धित प्रदेशमा खटिएका विधान संशोधन मस्यौदा समितिका सदस्यबाट तयार गरेको आआफ्नो प्रतिवेदन बुधबार पेश भएको थियो । काङ्ग्रेसले असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तक्रिया कार्यक्रम गरी विधान संशोधनका लागि सुझाव तथा राय सङ्कलन गरेको थियो ।

प्रदेश नं १ को इलाम र मोरङ, प्रदेश नं २ धनुषा र पर्सा, प्रदेश नं ३ ललितपुर र काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको कास्की र बागलुङ, प्रदेश नं ५ दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा राय सङ्कलन गरिएको हो ।

सङ्घीय संरचनाअनुसार पार्टीको सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गएको भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो भने पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । यसैबिच नेपाली काङ्ग्रेसको केन्द्रिल कार्यसमिति बैठक शुक्रबार बोलाईएको छ ।