अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो : सभापति देउवा

अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो : सभापति देउवा

काठमाडौँ, १६ असोज । १५० औं गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसको सन्दर्भ पारेर महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठाले मंगलबार राजधानीमा आयोजना गरेको २१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार विषयक विचार गोष्ठी सम्पन्न भयाे ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताउनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको २१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उहाँले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको बताउनुभयो ।

“अङ्ग्रेजजस्तो बलियो शक्तिलाई आन्दोलनबाट हटाउन गान्धीको महत्वपूर्ण योगदान रहेको थियो,” उहाँले भन्नुभयो । सभापति देउवाले गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ भन्ने सन्देश नेपालमा भएका परिवर्तनले दिएको उल्लेख गर्नुभयो । उहाँले काँग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधि गान्धीवादी नेता भएको भन्दै गान्धीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो ।

काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीले चलाएको अहिंसात्मक आन्दोलनमा नेपाली जनताको पनि उत्तिकै साथ र सहयोग रहेको उल्लेख गर्नुभयो । “गान्धीले देखाएको अहिंसा र शान्तिको बाटोमा अहिले भारतीय जनता अगाडि बढेका छन्,” उहाँले भन्नुभयो । नेता निधिले बन्दुकको नालबाट ल्याएको सत्ता लामो समय टिक्न नसक्ने स्पष्ट पार्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिले गान्धी बहुआयमिक क्षमताका व्यक्ति भएको बताउनुभयो । “सत्यको पक्षमा कसैसँग नडराउने गान्धीको विशेषता थियो,” उहाँले भन्नुभयो । गिरीले माक्र्सका नामबाट २० औं शताब्दीमा जुन खालको उथलपुथल आएको थियो, त्यसैगरी गान्धीका नामबाट २१ औं शताब्दीमा उथलपुथल आउने ठोकुवा गर्नुभयाे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले हिंसाको विरुद्धमा गान्धीले चालेको कदम महत्वपूर्ण रहेको बताउनुभयो । “गान्धीलाई माक्र्सवादको दृष्टिकोणले समेत हेर्न सकिन्छ,” उहाँले भन्नुभयो । भुषालले गान्धीको अहिंसात्मक आन्दोलनको बाटो नै परिबर्तनका लागि उपयुक्त बाटो हुने भन्दै माक्र्सबादी दृष्टिकोणबाट गान्धीको दर्शनको व्याख्या गर्नुभएकाे थियाे ।

भारतीय जनता पार्टीका प्रवक्ता एवं सांसद तरुण विजयले गरीब, दुःखी र शोषित जनताको पक्षमा उभिने व्यक्ति गान्धी भएको बताउनुभयो । “भारतीय स्वतन्त्रताका सेनानीको रुपमा गान्धीलाई लिन सकिन्छ,” उहाँले भन्नुभयो । उहाँले विश्वेश्वरप्रसाद कोइराला नेपालका लागि गान्धीवादी नेता भएको उल्लेख गर्नुभयो ।

काङ्ग्रेस आईका सचिव चन्द्र कुमारले गान्धीको आदर्श र सिद्धान्तलाई अहिलेका युवामाझ बुझाउनु जरुरी रहेको उल्लेख गर्नुभयो । “भारतलाई अहिलेको अवस्थासम्म ल्याइ पुर्याउन गान्धीको अतुलनीय योगदान रहेको छ,” उहाँले भन्नुभयो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, प्रा वीणा पौड्याललगायतले गान्धी भारतको मात्र नेता नभएर विश्वको नेता भएको बताउनुभयो ।

गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रभाबित भएका नेपाली कांग्रेसका पूर्ब महामन्त्री महेन्द्र नारायण निधि अहिंसात्मक आन्दोलनबाट भएको परिबर्तन टिकाउ हुनेमा बिश्वस्त हुनुहुन्थ्याे । नेता निधि जीवनभर अहिंसाको पक्षमा रहेका हुनुहुन्थ्याे ।

उहाँको संझनामा स्थापना गरिएको महेन्द्र नारायण निधि प्रतिष्ठानले अक्टोबर २ तारिखमा हरेक बर्ष नेपालमा गान्धी जयन्ती एवं अन्तर्राष्ट्रिय अहिंसा दिबस मनाउँदै आएको प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिनुभयाे ।