

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको जनाएको छ।
विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उक्त प्रणालीको प्रभावले मंगलबार देशभर आंशिकदेखि पूर्ण बदली मौसम भएको हो। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन्।
पोखरेलका अनुसार अहिलेको वर्षाले ठूलो असर नपर्ने भए पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना छ।
विभागले हिमाली क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। पोखरेलका भनाइअनुसार, “पोस्ट–मनसुन नेपालका लागि सामान्यतया राम्रो मौसमको समय हो, तर बेला–बेला बंगालको खाडी वा अरब सागरमा बन्ने चक्रवातका कारण हल्का वर्षा वा हिमपात हुने गर्छ।”
विभागका अनुसार अरब सागरको न्यून चापीय प्रणालीको असर सकिएपछि दुई–तीन दिनभित्र अर्को चक्रवातीय प्रभावका कारण फेरि मौसममा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।