रिहा भए प्रकाण्ड, रिहाइपछि भने- ‘बादल र प्रचण्डले दुःख दिए’

रिहा भए प्रकाण्ड, रिहाइपछि भने- ‘बादल र प्रचण्डले दुःख दिए’

काठमाडाै‌, १० असाेज । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न पुनः आदेश दिएको छ । सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वकर्मा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो । प्रकाण्डलाई यसअघि पटक पटक रिहा गरेर पुनः पक्राउ गर्दै विभिन्न जिल्लामा मुद्दा चलाइएको थियो । उनलाई यसपटक भने प्रहरीले पुनः पक्राउ गरेको छैन ।

रिहाइपछि माइतीघर मण्डलामा उनको स्वागत तथा अभिनन्दनका लागि भेला भएका नेकपा कार्यकर्ता, समर्थक तथा शुभेच्छुकसमक्ष प्रवक्ता प्रकाण्डले सरकारले आफ्नो हत्या गर्ने योजना बनाएको तर असफल भएको आरोप लगाए ।

उनले आफ्नो रिहाइले आम जनताको विजयी भएको दाबी गर्दै प्रचण्ड र गृहमन्त्री बादलले अनाहकमा दुःख दिएकाले त्यसको बदला लिने संकेत गरे । उनले भने, ‘जब नेपाली जनताको राज्य सत्ता स्थापना हुँदैन, जब नेपाली जनता आफैं शासन सञ्चालन गर्ने हुँदैनन्, तबसम्म हाम्रो त्यो क्रान्ति जारी रहनेछ ।’  थुनामुक्त हुँदै सर्वोच्च अदालत परिसर बाहिर प्रकाण्डले यो सत्ता भदौमा उम्रेको च्याउको संज्ञा दिएका छन् । उनले भने, ‘यिनीहरुको समय धेरै छैन । हामीसँग बन्दुक छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।’ प्रकाण्ड सात करोड चन्दा उठाएको भन्दै पहिलोपटक साउन तेस्रो साता पक्राउ परेका थिए । नेकपाका प्रवक्ता समेत रहेका प्रकाण्डसहित नेता उमा भुजेल लगायत पनि रिहा भएका छन् ।

साउन २३ गते काठमाडौंमा पक्राउ परेका उनलाई सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिएको छ।  सर्वोच्चको आदेशपछि प्रहरी एकछिन उनलाई छोड्छ तर फेरि समातिहाल्ने गरेकाे थियाे । डेढ महिनामा प्रहरीले उनलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङ पुर्‍याएको छ। पछिल्लो समय उनलाई उदयपुर लगिएको थियाे ।