

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ‘कोसीका एक-दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी परिरहेको छ,’ उनले बताइन्।
आज बिहान ६ बजे जारी बुलेटिनअनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका पहाड तथा तराई भूभाग धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोसी, मधेस, बागमती र गण्डकीका केही स्थान र लुम्बिनीको तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश ठाउँमा बदली रहँदै मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। यी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, १०–५० मिलिमिटरलाई मध्यम, ५०–१०० मिलिमिटरलाई भारी, १००–२०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ।
त्यस्तै, वर्षाको सम्भावना ‘एक-दुई स्थान’ भनेको १० प्रतिशतभन्दा कम क्षेत्रमा, ‘थोरै स्थान’ भनेको १०–३० प्रतिशत क्षेत्रमा, ‘केही स्थान’ भनेको ३०–५० प्रतिशत क्षेत्रमा, ‘धेरै स्थान’ भनेको ५०–८० प्रतिशत क्षेत्रमा र ‘अधिकांश स्थान’ भनेको ८० प्रतिशतभन्दा बढी क्षेत्रमा वर्षा हुने संकेत हो।