

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालवाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन्।
जोमसोम–कोरला सडकअन्तर्गत चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मंगलबारदेखि अड्किएका हुन्।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मझौला कन्टेनर मुस्किलले तल झारिए पनि ‘हेभी’ ट्रली अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सारमै रोकिएको हो। उनले दसैँपछि व्यवसायी र आयोजनाले मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गर्ने बताए।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले कोरला नाका सञ्चालनमा आए पनि घमी खोलाको डाइभर्सन नहुँदा समस्या देखिएको बताए।
घमी खोलामा सात वर्षअघि सुरु भएको पुल हालसम्म नसकिँदा समस्या झन् बढेको हो। विसं २०७५ मा ६ करोड ८० लाख रुपैयाँमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले ठेक्का पाएको पुलमा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति मात्र भएको छ।