

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षा हुने प्रक्षेपण गरेको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग, मधेस प्रदेश र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। लुम्बिनीका तराई भूभाग, कर्णाली र बागमती प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर आकाशमा बादल छाउने र कोसी, गण्डकी, लुम्बिनीका पहाड–तराई भूभाग, मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा हुने अनुमान छ। कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने देखिएको महाशाखाले जनाएको छ।
महाशाखाले ‘दिउँसो’ भन्नाले बिहानदेखि साँझ ६ बजेसम्म र ‘राति’ भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधिलाई जनाउने स्पष्ट गरेको छ।
मौसमविद्हरूका अनुसार –
२४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा
१० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा
५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा
१०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा
२०० मिलिमिटरभन्दा माथिलाई अति भारी वर्षा भनिन्छ।
त्यसैगरी,
‘एक–दुई स्थान’ भन्नाले प्रदेशको १०% भन्दा कम क्षेत्रफल,
‘थोरै स्थान’ भन्नाले १०–३०% क्षेत्रफल,
‘केही स्थान’ भन्नाले ३०–५०% क्षेत्रफल,
‘धेरै स्थान’ भन्नाले ५०–८०% क्षेत्रफल र
‘अधिकांश स्थान’ भन्नाले ८०% भन्दा बढी क्षेत्रफलमा वर्षा हुने सम्भावना जनाउँछ।