सिन्धुपलाञ्चोक, ९ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सबै राजनीतिक दल मिलेर मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताएका छन्।
‘समुदाय र विपद् उद्धार समूह’ नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै नेता बस्नेतले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद गर्ने छुट नभएको उल्लेख गरे।
सिन्धुपलाञ्चोकले पछिल्लो समयमा पहिरो र भूकम्पजस्ता ठूला विपद्को सामना गर्नुपरेको बताउँदै नेता बस्नेतले ठूला विपद्का बेला सरकारसँगै अन्य सहयोगी हातको पनि आवश्यकता पर्ने विचार व्यक्त गरे।
कार्यक्रममा सिडिआरटीका अध्यक्ष काड्यन गार्रेट स्किमनले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्यचौकी स्थापनामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै स्वास्थ्यचौकीको प्रभावकारी सञ्चालन र स्तारोन्नतिका लागि सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे।
सिडिआरटीको रु ३० लाखभन्दा बढीको सहयोगमा निर्मित स्वास्थ्य केन्द्रको सञ्चालनका लागि भने उक्त संस्था र लायन्स क्लब सान्टा रोजा काष्ठमण्डप क्यालिफोर्नियाले सहयोग गर्ने सम्झौता भएको छ। हाल एक हेल्थ असिस्टेन्ट र एक सहयोगी रहेको स्वास्थ्य केन्द्रले सो क्षेत्रका जनतालाई निःशुल्क उपचार र औषधिको समेत व्यवस्था गर्नेछ ।
गोरखा भूकम्पका बेला स्वास्थ्यका क्षेत्रमा सहयोग गरेको सिडिआरटीले सो क्षेत्रका दुई हजार दुईसय घरधुरीका लागि स्वास्थ्यचौकी नजिक पायक पर्ने नदेखेपछि उक्त स्वास्थ्यचौकी स्थापना गरेको जनाएको छ। सिडिआरटीले नेपालमा आफ्ना क्रियाकलाप ‘स्वयंसेवी क्रोफ्स नेपाल’ मार्फत गर्दै आएको छ।