शाहरूख सुहानासँग ‘किङ’ सुटिङका लागि युरोप जाने तयारीमा

शाहरूख सुहानासँग ‘किङ’ सुटिङका लागि युरोप जाने तयारीमा

मुम्बई । बलिउड स्टार शाहरूख खान चोटमुक्त भएपछि उनी अभिनीत बहुप्रतिक्षित फिल्म ‘किङ’ पुनः सुटिङमा फर्किने भएको छ। यस फिल्ममार्फत शाहरूखकी छोरी सुहाना खानले ठूलो पर्दामा डेब्यु गर्न लागेकी छिन्, जसले फिल्मलाई झनै विशेष बनाएको छ।

शाहरूखको काँधमा चोट लागेका कारण केही समय सुटिङ रोकिएको थियो। तर अहिले स्वास्थ्य पूर्ण रूपमा ठिक भएपछि फिल्मको टोली सेप्टेम्बरमा युरोप यात्रा गर्ने तयारीमा रहेको छ।

रिपोर्टअनुसार पोल्याण्ड र स्टकहोममा करिब ४०-५० दिन लामो सुटिङ हुनेछ। यस अवधिमा शाहरूख र सुहाना दुवै क्यामेराको अगाडि देखिनेछन्। निर्देशक सिद्धार्थ आनन्दले युरोपको सौन्दर्यलाई प्रयोग गर्दै फिल्मका महत्त्वपूर्ण नाटकीय र भावनात्मक दृश्य खिच्ने योजना बनाएका छन्।

पहिले यो फिल्मलाई सन् २०२६ को गान्धी जयन्तीमा रिलिज गर्ने तयारी थियो। तर शाहरूखको चोटका कारण ढिलाइ हुँदा अब फिल्म क्रिसमस २०२६ मा रिलिज हुने सम्भावना बढेको छ।

फ्यानहरूले पनि शाहरूखको स्वास्थ्य सुधारको खबरलाई राहतको रूपमा लिएका छन्। अब सबैको नजर ‘किङ’मा- जहाँ पहिलो पटक पिता-छोरी जोडी पर्दामा एकसाथ देखिँदैछन्।