

मुम्बई । बलिउड अभिनेत्री सोहा अली खान राजसी र धनी परिवारकी सदस्य हुन्। उनका पिता मन्सुर अली खान पटौदी भारतीय क्रिकेट टोलीका कप्तान मात्र नभई पटौदी रियासतका नवौं नवाब पनि थिए। आमा शर्मिला ट्यागोर अनुभवी अभिनेत्री हुन् भने दाजु सैफ अली खान र भाउजू करिना कपुर समेत बलिउडमा स्थापित कलाकार हुन्।
यति ठूलो परिवार र ८०० करोड मूल्यको पटौदी दरबार हुँदाहुँदै पनि कहिलेकाहीँ सोहालाई मुम्बईमा भाडाको फ्ल्याटमा बस्नुपरेको थियो।
हालैको एक अन्तरवार्तामा उनले आफ्नो जीवनको त्यो चरणको स्मरण गर्दै खुलासा गरेकी छिन्। उनका अनुसार लोखंडवालामा मासिक १७ हजार रुपैयाँमा फ्ल्याट भाडामा लिएर बस्ने निर्णय उनले आफ्नै कारणले गरेकी थिइन्।
सोहाले भनिन्, “मसँग पैसाको कमी थिएन तर म स्वतन्त्र जीवन बिताउन चाहन्थें। अरूको निर्णय सुन्नु नपरोस् भनेर मैले आफ्नै कमाइबाट बस्न सुरु गरेँ।”
फिल्म करियर सुरु गर्नु अघि उनले बैंकमा काम गरेकी थिइन्, जहाँ वार्षिक २ लाख २० हजार रुपैयाँ कमाउँथिन्। उनको तलबको अधिकांश हिस्सा घरभाडामा जान्थ्यो। तर, उनी भन्छिन्— भाडाको घर र जागिरको अनुभवले उनलाई आत्मनिर्भर र निर्णय लिन सक्ने बनायो।
सोहा अली खानका अनुसार यो कदम दुस्साहसी भए पनि जीवनमा आत्मविश्वास बढाउने मोड Turning Point सावित भएको थियो।