किन टुट्यो अमिताभ र भाइ अजिताभबीचको सम्बन्ध ?

किन टुट्यो अमिताभ र भाइ अजिताभबीचको सम्बन्ध ?

मुम्बई । बच्चन परिवारको कुरा हुँदा सधैं अमिताभ बच्चन, जया बच्चन, अभिषेक बच्चन, श्वेता बच्चन र ऐश्वर्या राय बच्चनको चर्चा हुने गर्छ। तर, अमिताभ बच्चनका कान्छा भाइ अजिताभ बच्चनबारे भने निकै कम चर्चा हुने गरेको छ।

अमिताभ बच्चनको फिल्मी करियरमा ठूलो योगदान दिने व्यक्तिमध्ये उनका भाइ अजिताभ पनि थिए। कुनै समय उनी अमिताभका म्यानेजर समेत बने। कोलकातामा साधारण जागिरमा काम गरिरहेका अमिताभलाई फिल्म क्षेत्रमा प्रवेश गर्न प्रेरित गर्ने पनि अजिताभ नै थिए। उनले अमिताभको फोटो प्रतियोगितामा पठाएर अभिनेताको बाटो खोलिदिएका थिए।

दुवै दाजुभाइ बाल्यकालदेखि नजिक थिए। अमिताभले आफ्ना धेरै गोप्य कुरा पनि अजिताभसँग बाँड्ने गरेको कुरा सार्वजनिक गरिसकेका छन्। तर, जीवनमा उतारचढावसँगै दाजुभाइबीच दूरी बढ्दै गयो।

विशेषगरी सन् १९८६–८९ तिरको बोफोर्स घोटालामा अमिताभको नाम तानिएपछि समस्या सुरु भएको बताइन्छ। त्यतिबेला भाइ अजिताभको कम्पनीमाथि समेत छानबिन भएको थियो। मुद्दा अन्ततः टुंगिएको र अमिताभ निर्दोष सावित भए पनि त्यस अवधिबाट दाजुभाइबीच चिसोपन आएको मानिन्छ।

अजिताभकी पत्नी रमोला बच्चनले पनि जया बच्चनसँग नजिकको सम्बन्ध राख्न छाडेकी थिइन्। लण्डन बसाइपछि भारत फर्कँदा उनले बच्चन परिवारसँगै नबसी छुट्टै अपार्टमेन्ट रोजेकी थिइन्।

पिता हरिवंशराय बच्चनको निधनपछि दाजुभाइबीचको दूरी अझ बढेको अजिताभले विभिन्न अन्तर्वार्तामा स्वीकार गरेका छन्। उनले भनेका थिए, “म लामो समयदेखि विदेशमै रहेँ, दूरी आफैं बढ्छ। बाबु जिउँदै हुँदा हामीले परिवारको खातिर नजिक रहन खोज्यौं, तर पछि सम्बन्ध चिसो भयो।”

अजिताभले खुलस्त कारण भने स्पष्ट नगरे पनि अमिताभको नयाँ राजनीतिक र सामाजिक घेरासँगै दूरी बढेको संकेत गरेका छन्। पत्रकारहरूले अमर सिंहसँगको मित्रता वा गान्धी–नेहरू परिवारसँगको सम्बन्धलाई कारण मान्दा पनि उनले प्रत्यक्ष स्वीकार गरेका छैनन्।

तर, मेलमिलापको सम्भावना बारे सोध्दा अजिताभले भनेका थिए, “संसार सानो छ र जीवन छोटो छ, जे पनि सम्भव छ। हेरौं, के हुन्छ।”