

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मतमा पूर्ण समर्थन गर्न तीन बुँदे ह्वीप जारी गरेको छ।
प्रदेशसभा सचिवालयले २७ साउनमा हुने विश्वासको मतका लागि आह्वान गरेको बैठकमा सांसदहरूले अनिवार्य रूपमा उपस्थित हुनुपर्ने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मतदान गर्नुपर्ने ह्वीपमा समावेश छ।
ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकले सुरजचन्द्र लामिछानेलाई दलको प्रवक्ताको जिम्मेवारी सुम्पेको छ भने तीन सदस्यीय अनुशासन समिति पनि गठन गरिएको छ।
यसैबीच, निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाका पक्षधरहरूले मन्त्री नियुक्ति सम्बन्धी सहमति पालना नभएको भन्दै असन्तुष्टि प्रकट गर्दै काठमाडौंमा छुट्टै बैठक बसेको जानकारी प्राप्त भएको छ।