अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

काठमाडौं : मोटोपना घटाउन चाहनेहरूका लागि अब सुइ (इन्जेक्सन) को माध्यमबाट तौल घटाउन सकिने भएको छ। भारतमा नयाँ तौल घटाउने औषधि ‘बेगोवी’ (Wegovy) को लन्चसँगै यो सम्भव भएको हो। नोभो नोर्डिस्कले यो औषधि जुन २४ मा भारतमा आधिकारिक रूपमा लन्च गरेको हो।

मोन्जारोपछि भारतमा स्वीकृत दोस्रो तौल घटाउने इन्जेक्सन हो वेगोवी, जसमा सेमाग्लूटाइडको उच्च डोज हुन्छ। यो औषधिले शरीरमा भोक र लालसालाई नियन्त्रण गर्ने प्राकृतिक हर्मोनको काम गर्छ। मस्तिष्कका भोकसँग सम्बन्धित भागमा असर गरेर, पेट भरिएको महसुस गराउने र पाचन प्रक्रियालाई ढिलो बनाउने कार्य गर्छ।

मुम्बईको लीलावती अस्पतालका एन्डोक्रिनोलोजिस्ट डा. शशांक जोशीका अनुसार यो औषधि विशेष गरी मधुमेह पीडित र प्रसवपछि तौल बढेका महिलाहरूका लागि लाभदायक मानिन्छ। त्यस्तै, डा. अम्ब्रीश मिथलका अनुसार यसले हृदय रोगको जोखिम २० प्रतिशतले कम गर्न सक्छ।

रिलायन्स अस्पतालका डा. मुफजल लकडावालाले वेगोवीलाई केवल औषधि नभई मोटोपनासँग जुझ्न सोचमा परिवर्तन ल्याउने उपाय समेत भएको बताएका छन्। यो उपचारले मोटोपनाबाट उत्पन्न हुने क्यान्सर, मधुमेह, बाँझोपन जस्ता दीर्घ रोगहरूबाट बच्न सहयोग गर्छ।

फ्लेक्स टच पेन यन्त्रमार्फत प्रयोग गरिने यो औषधि हप्तामा एकपटक मात्र प्रयोग गर्नुपर्ने हुन्छ। तर, यसलाई डाक्टरको सल्लाहबिना प्रयोग गर्न नहुने चेतावनी दिइएको छ।

यो औषधि जादूझैं तुरुन्त असर गर्ने उपचार होइन, तर स्वस्थ जीवनशैली परिवर्तनमा साथ दिने समर्थन प्रणाली हो। स्व-प्रशासन, ओभर डोज वा मनपरी प्रयोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ, त्यसैले चिकित्सकीय परामर्शमा मात्र प्रयोग गर्न आग्रह गरिएको छ।