

काठमाडौं । संघीय संसदका चारवटा समितिको बैठक आज सिंहदरबारस्थित संसद भवनमा बस्दैछन्। संसद सचिवालयका अनुसार सबै बैठकहरू आ–आफ्ना तय गरिएको समयअनुसार हुनेछन्।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ, जसमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल गरिनेछ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे हुनेछ। बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायसम्बन्धी हालसम्म भएका कामहरू तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका बारेमा छलफल गरिनेछ।
दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ, जहाँ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुने छ।
त्यस्तै, संसदीय सुनुवाइ समितिको बैठक पनि बिहान ११ बजे बोलाइएको छ, जसमा अनुगमन कार्यक्रमसम्बन्धी छलफल हुने संसद सचिवालयले जनाएको छ।