ओलीको निर्देशन- जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

ओलीको निर्देशन- जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

काठमाडौं।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौंको नियन्त्रण नेकपा एमालेको हातमा हुनुपर्ने निर्देशन दिएका छन्। आइतबार एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

जेठ १५ गते राजावादी समूहले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन्। उक्त आन्दोलनमा हस्तक्षेप गर्न तयार रहन कार्यकर्तालाई आह्वान गर्दै ओलीले दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका हुन्।

“१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ,” उनले भने, “कसरी कुन संस्था अगाडि लाग्छ, त्यो नहेर्नुस्। आन्दोलनमा प्रोटोकल हुन्न, सबै एकै भएर अघि बढ्नुपर्छ।” ओलीले राजावादीहरू कुनै महान उद्देश्यका लागि नभई साना स्वार्थका लागि लडिरहेको टिप्पणी गरे। “सरकार र जनता अलिक मौन भएको फाइदा उठाएर अनावश्यक फूर्ति देखाउँदैछन्,” उनले भने, “तर एमाले मैदानमा उत्रेपछि ती कहाँ जान्छन् हेर्नुस्।”

कार्यकर्तालाई प्रशिक्षण सकिएलगत्तै १५ गतेका लागि तयारी थाल्न निर्देशन दिँदै उनले भने, “निर्देशन पछि आउँछ, तर तपाईंहरू जे गर्नुपर्छ तयारी अवस्थामा बस्नुस्।”