

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको भन्दै गृह मन्त्रालयले स्पष्टिकरण जारी गरेको छ। शनिबार मन्त्रालयका सहसचिव छवि रिजालद्वारा प्रकाशित विज्ञप्तिमा गृहमन्त्री र मन्त्रालयको नेतृत्वप्रति लागेका आरोप आधारहीन, भ्रामक र कपोलकल्पित भएको उल्लेख गरिएको छ।
विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनालाई लिएर गृहमन्त्री लेखकमाथि संलग्नताको आशंका गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएको थियो। यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको संलग्नता नरहेको र भविष्यमा पनि नहुने कुरा स्पष्ट गर्दछौं।” साथै, सत्य तथ्यमा आधारित मात्र समाचार सम्प्रेषण गर्न सबैमा आग्रह गरिएको छ।
यो विज्ञप्ति गृहमन्त्री लेखकले धनुषामा आयोजित कार्यक्रममा आफूमाथि लागेको आरोप असत्य भएको भन्दै प्रतिक्रिया दिएलगत्तै सार्वजनिक गरिएको हो।
गृह मन्त्रालयले अपराध, अनियमितता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइरहेको र नीतिगत तथा संस्थागत सुधारका कदम चालिरहेको पनि विज्ञप्तिमा उल्लेख छ। त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयसम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी दिँदै मन्त्रालयले आयोगलाई पूर्ण सहयोग रहने पनि स्पष्ट पारेको छ।