

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। अब उक्त रिटमा आदेश आउन बाँकी रहेको छ।
गत मंगलबारदेखि शुरू भएको यो मुद्दाको सुनुवाइ शुक्रबार न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सम्पन्न भएको हो। शुक्रबारको सुनुवाइमा लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता दिनेश त्रिपाठी र रामचन्द्र आरसी गौतमले बहस प्रस्तुत गरे। त्यसपछि लामिछाने र जोशी पक्षबाट अधिवक्ता सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरे।
यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशअनुसार उनी हाल रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका छन्।