

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बुधबारबाट औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिएपछि पौडेल बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेका थिए। त्यहीं उनले गभर्नरको रूपमा काम सुरु गरेका हुन्।
लामो समयको अन्योलपछि मुलुकले १८औं गभर्नरको रूपमा पौडेललाई पाएको हो। मंगलबार गभर्नर सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने र खराब कर्जाको जोखिममा परिरहेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु अब उनका प्रमुख चुनौतीमध्ये पर्नेछ।
समग्र अर्थतन्त्रको इतिहास र विश्लेषणमा दखल राख्ने, अध्ययनशील र अनुभवी युवा अर्थशास्त्रीको छवि बनाएका डा. पौडेललाई अब मुलुकको मौद्रिक स्थायित्व सुनिश्चित गर्ने जिम्मेवारी सुम्पिएको छ।