राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक पहिलोपटक बस्दै

राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक पहिलोपटक बस्दै

काठमाडौं: उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक पहिलोपटक आह्वान गरेका छन्। बैठक मंगलबार अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

गभर्नर सिफारिस समितिको संयोजक अर्थमन्त्री पौडेल रहेका छन् भने सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषनाथ पाण्डे छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा कुराकानी भएको थियो। सोही छलफलपछि समितिको बैठक बोलाइएको हो।

गभर्नर पदका लागि सभापति देउवाले प्रा.डा. विश्व पौडेलको नाम अघि सारेका छन्। सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ भने मन्त्रिपरिषदले तीमध्ये एक जनालाई गभर्नर नियुक्त गर्ने प्रावधान छ।