

काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गर्दै संघलाई समृद्ध नेपाल निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गरेकी छन्।
शनिबार काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री राणाले राजनीति गर्ने स्थान अलग हुने भन्दै एनआरएनएजस्तो संस्थामा राजनीतिक प्रभाव नपार्नुपर्ने बताइन्।
“एनआरएनए राजनीति गर्ने थलो होइन, यो समर्पण र योगदान गर्ने प्लेटफर्म हो,” उनले भनिन्, “यहाँ आएर राजनीति नगरिदिनुस्, समृद्ध नेपालको यात्रामा सहयोग गरिदिनुस्।”
राजनीतिमा संलग्नहरूलाई समृद्धिको व्यवहारिक रणनीति थाहा नहुने टिप्पणी गर्दै उनले विदेशमा सिकेका अनुभवलाई नेपालमा लागू गरेर परिणाम दिन गैरआवासीय नेपालीहरूले सक्ने विश्वास व्यक्त गरिन्।
परराष्ट्रमन्त्री राणाले एनआरएनएलाई आफ्नो परिवार, समाज, गाउँ र देशको विकासमा समर्पित हुने महत्वपूर्ण शक्ति भन्दै त्यसको भूमिकालाई अझ मजबुत बनाउने आग्रह गरिन्।