

काठमाडौं । आउँदो जेठ २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’को पोस्टर सार्वजनिक गरिएको छ। हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक कथावस्तुलाई समेटिएको फिल्मको पोस्टरमा सबै कलाकारलाई समेटिएको छ भने दुई प्रमुख पात्र सौगात मल्ल र गरिमा शर्मालाई विशेष रूपमा हाइलाइट गरिएको छ।
पोस्टरमा सौगात र गरिमासँगै आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरू देखिएका छन्। पोस्टरको केन्द्रमा देखिएको बाख्रो पात्रले चलचित्रको कथावस्तुमा व्यङ्ग्य र कमेडी भरपूर रहेको संकेत गर्छ।
सिमोश सुनुवारको निर्देशनमा बनेको यस चलचित्रमा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेर लगायतको पनि अभिनय रहेको छ। ग्रामीण परिवेशको जीवनशैलीमा आधारित कथामा हास्यरससँगै सामाजिक सन्देश पनि समेटिएको निर्माण टिमको भनाइ छ।