प्रतिगामी षड्यन्त्र सफल हुन नदिने प्रचण्डको घोषणा

प्रतिगामी षड्यन्त्र सफल हुन नदिने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिएको प्रतिगामी षड्यन्त्रलाई कुनै हालतमा सफल हुन नदिने घोषणा गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सरकारका केही त्रुटिपूर्ण कामका कारण प्रतिगामी शक्तिहरू धमिलो पानीमा माछा मार्न उद्यत भएको टिप्पणी गरे।

संविधान निर्माणको क्रममा केही सम्झौताहरू आवश्यक भएकाले त्यसबेला लचिलो रूपमा प्रस्तुत हुनुपरेको उल्लेख गर्दै अब भने यथास्थितिवाद र प्रतिगमनविरुद्ध उत्पीडित वर्ग, जाति र समुदाय एक भएर अघि बढ्नुपर्ने समय आएको बताए।

प्रचण्डले अब अन्य दलहरूसँगको तालमेलले जनतामा सकारात्मक प्रभाव नपरेको भन्दै पार्टीलाई बलियो बनाउँदै आगामी निर्वाचन आफ्नै बलमा लड्ने तयारीमा आफू लागेको स्पष्ट पारे।

उनले प्रधानमन्त्री हुँदा गरिब किसानको ३० हजारसम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको स्मरण गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाको आदर्शबाट प्रेरणा लिएको बताए।

नेवार समुदायको भाषा, संस्कृति र पहिचान पूर्णरूपमा स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।