

काठमाडौं । च्यासल क्षेत्रमा काठमाडौं महानगरपालिका र कवाडी व्यवसायीबीच भएको झडपमा दुई जना घाइते भएका छन्। महानगरपालिकाले अवैध रुपमा कवाडी संकलन भइरहेको स्थान खाली गराउन डोजरसहित टोली पठाउँदा बिहीबार झडप भएको हो।
जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार झडपमा महानगर प्रहरीका ५० वर्षीय इन्सपेक्टर ईश्वरी वाग्ले र कवाडी व्यवसायी सर्लाही रामनगर–४ का ३५ वर्षीय होसनारायण यादव घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको र उनीहरूको सिभिल अस्पताल, मीनभवनमा उपचार भइरहेको जानकारी दिइएको छ।
घटनापछि प्रहरीले संलग्न भएको आरोपमा रौतहट मौलापुर–४ का १८ वर्षीय सन्जिव यादव र सर्लाहीका ३५ वर्षीय जोतनारायण यादवलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।
यसबीचमा कवाडी व्यवसायी समाजले महानगरपालिकाले व्यवसायीमाथि दमन गरेको आरोप लगाउँदै एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा व्यवसायी र संकलकमाथि भइरहेको ‘गुण्डागर्दी’ र ज्यादती तत्काल रोक्न सरकार र सरोकारवाला निकायसँग माग गरिएको छ।