पूर्व अध्यक्ष गणेश थापामाथिको फिफा प्रतिबन्ध १० वर्षपछि समाप्त

पूर्व अध्यक्ष गणेश थापामाथिको फिफा प्रतिबन्ध १० वर्षपछि समाप्त

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको प्रतिबन्ध अन्ततः समाप्त भएको छ।

फिफाले सन् २०१५ अप्रिल १६ मा थापालाई भ्रष्टाचार र घुससहित विभिन्न अनुशासनहीन क्रियाकलापमा संलग्न भएको ठहर गर्दै १० वर्षका लागि फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन निषेध गरेको थियो। उक्त प्रतिबन्ध यस वर्षको अप्रिल १५ मा सकिएको हो।

थापाले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रतिबन्धको अवधि समाप्त भएको पुष्टि गरेका छन्। “माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु,” उनले लेखेका छन्, “२०१५ अप्रिल १६ मा लागेको प्रतिबन्ध २०२५ अप्रिल १५ मा आएर समाप्त भएको हो।”

थापा २० वर्षभन्दा बढी समय एन्फाको नेतृत्वमा रहेका थिए। प्रतिबन्धपछि उनी फुटबल गतिविधिबाट पूर्ण रूपमा बाहिरिएका थिए।