‘कोरला नाकाबाट घरायसी प्रयोजनको सामान ल्याउन रोकिएको छैन’

‘कोरला नाकाबाट घरायसी प्रयोजनको सामान ल्याउन रोकिएको छैन’

मुस्ताङ । कोरला नाकाबाट घरायसी प्रयोजनका लागि आवश्यक सामग्री ल्याउन कुनै प्रतिबन्ध नरहेको भन्सार कार्यालय मुस्ताङले स्पष्ट पारेको छ। लोमान्थाङमा शुक्रबार आयोजित कोरला नाका व्यापार प्रवर्द्धनसम्बन्धी छलफलमा भन्सार कार्यालयले यस्तो जानकारी दिएको हो।

छलफलमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, भन्सार तथा अध्यागमन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा व्यापारीहरूको उपस्थिति थियो। छलफलमा कोरला नाकाबाट व्यापारमा देखिएका चुनौती तथा समाधानका उपायहरूबारे विचारविमर्श गरिएको थियो।

भन्सार प्रमुख करबिर गैरेका अनुसार नाका खुल्ला भए पनि कार्यालयमा आवश्यक जनशक्ति तथा पूर्वाधारको अभावले राजस्व संकलनमा कठिनाइ भइरहेको छ। उनले भने, “व्यापारिक प्रयोजनबाहेक, घरायसी सामान ल्याउन सरकारले नै छुट दिएको छ, त्यसमा भन्सारले कुनै रोकावट गर्दैन।”

गैरेले भन्सारको पूर्वाधार नहुँदा व्यापारिक सामग्रीको आयातले अवैध क्रियाकलाप बढ्न सक्ने जोखिम रहेको उल्लेख गरे। प्रमुख जिल्ला अधिकारी भुसालले भने कोरला नाकाबाट सुरक्षित र व्यवस्थित व्यापार सञ्चालनका लागि भन्सार कार्यालयको सक्रिय भूमिका आवश्यक रहेको बताए।

लोमान्थाङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत विकास केसीका अनुसार छलफलले कोरला नाकाबाट व्यापार पुनः सुरु गर्न पहल गर्ने, भन्सार तथा अध्यागमन कार्यालय सञ्चालन गर्न र आवश्यक अन्य पूर्वाधार विकासका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ।

२०८० साल कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि कोरला नाका वर्षभरि खुला गरिएको थियो। तर, गत पुसमा विद्युतीय चुरोट (भेप) अवैध रूपमा भित्रिएको घटनापछि कडाइ गरिएपछि पछिल्लो पाँच महिनादेखि व्यापार ठप्प भएको छ।

स्थानीय व्यापारीहरूले घरायसी प्रयोजनभन्दा बाहिरको व्यापार पुनः सञ्चालनको वातावरण बनाइदिन माग गरिरहेका छन्।