

जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि राजनीतिक समिति गठन गरिने बताएका छन्। मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभवका आधारमा वर्तमान संविधानलाई अझ बलियो बनाउने लक्ष्यसहित समिति निर्माण गरिने स्पष्ट पारे।
उनले भने, “सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न उपयुक्त समयमा संविधान संशोधन गर्छौं। नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौं। तर, प्याण्डोराको बाकस खोल्ने होइन, प्रगतिको ढोका खोल्ने संशोधन हुनेछ।”
संविधानको माध्यमबाट राजतन्त्र पुनःस्थापित गर्न खोज्ने प्रयासप्रति आलोचना गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र नै देशको वर्तमान र भविष्य भएको दोहोर्याए। “नयाँ पुस्तालाई भ्रमित बनाउने कोसिस भइरहेको छ, तर आजको सचेत समाजले सामन्ती व्यवस्था स्वीकार्दैन,” उनले भने।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र जनताको संघर्षको जगमा आधारित भएको उल्लेख गर्दै यो प्रणालीको संरक्षण र सुदृढीकरणमा सबैको जिम्मेवारी रहेको बताए। “संसदको सपथ खाएर संविधान नमान्ने भनाइ अनुचित हो,” उनले थपे।
छिमेकी मुलुकहरूसँगको सम्बन्धबारे उनले अनावश्यक हल्ला नफैलाउन आग्रह गर्दै भारत र चीनसँग नेपालको मित्रता मजबुत रहेको दाबी गरे। “सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ,” भन्दै दुई छिमेकीसँगको सम्बन्धलाई सामान्य मतभेद भित्रको मित्रता भएको व्याख्या गरे।