

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका बहुजातीय, बहुभाषिक, सांस्कृतिक र परम्परागत सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार एकसाथ सक्रिय हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
ललितपुरको पाटन दरबार क्षेत्रमा पुनर्निर्मित ऐतिहासिक श्री देगुतलेजु मन्दिरको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा सरकारको भूमिका मात्र पर्याप्त नहुने, नागरिक तहको चासो, सचेतना र सहभागिता पनि अनिवार्य हुने धारणा व्यक्त गरे।
“यी अमूल्य सम्पदा भावी सन्ततिका लागि हाम्रो इतिहास र संस्कृतिसँग जोडिने महत्वपूर्ण कडी हुन्,” उनले भने, “यिनको संरक्षण हाम्रो साझा जिम्मेवारी हो।”
राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अनुपम देश भएको उल्लेख गर्दै, देशभर रहेका मठमन्दिर, शक्तिपीठ र तीर्थस्थलहरू नेपाली सभ्यता र राष्ट्रिय गौरवसँग जोडिएको बताए।
उनले पाटन दरबार क्षेत्रलाई विदेशी तथा स्वदेशी पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा चिनाउँदै, यहाँका सम्पदाहरूले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेको बताए।
गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको देगुतलेजु मन्दिरलाई पूर्ववत स्वरूपमा पुनर्निर्माण गर्नु चुनौतीपूर्ण भए पनि सफल पुनर्निर्माणले सम्पदाको सौन्दर्य र ऐतिहासिक महत्त्व झनै बढाएको राष्ट्रपति पौडेलले उल्लेख गरे।