

काठमाडौं। नेपाल यु–१९ क्रिकेट टोली अफगानिस्तान यु–१९ सँग पहिलो एकदिवसीय खेलमा १३० रनले पराजित भएको छ।
बिहीबार मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६.२ ओभरमा मात्र १७० रनमै समेटियो।
नेपालका लागि निरजकुमार यादवले सर्वाधिक ५३ रन बनाए भने सन्तोष यादव र अशोक धामीले समान २४, अभिषेक तिवारीले १७, कप्तान नरेन भट्टले १३ तथा सिब्रिन श्रेष्ठले ११ रनको योगदान दिए।
बलिङतर्फ अफगानिस्तानका वाहिदउल्लाह जाद्रन, जियातउल्लाह शहिन, र कप्तान महबुब खानले समान दुई–दुई विकेट लिए भने अब्दुल अजिज खान र नोरिस्तानी ओमरजाईले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०० रनको योगफल तयार पारेको थियो।
यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।