

काठमाडौं : सन् २०२५ को पहिलो सूर्यग्रहण भोलि (शनिबार) लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यो खण्डग्रास सूर्यग्रहण हो, जुन नेपालबाट देखिने छैन ।
नेपाली समयअनुसार दिउँसो २:३५ बजे सुरु हुने यो सूर्यग्रहण साँझ ६:२८ बजे समाप्त हुनेछ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईकाअनुसार नेपालमा मात्र नभई भारतबाट पनि सूर्यग्रहण देख्न सकिने छैन ।
तर, युरोप, उत्तर एसियामा रसियाका केही स्थान, उत्तर अफ्रिका, पश्चिम अफ्रिका र उत्तरी अमेरिकाका केही देशबाट भने यो सूर्यग्रहण देख्न सकिनेछ । विशेष गरी क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट ग्रहणको दृश्यावलोकन सम्भव हुनेछ ।
अध्यक्ष भट्टराईका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकाले यसको कुनै सांस्कृतिक वा धार्मिक प्रभाव पर्ने छैन । “नेपालबाट नदेखिने भएपछि सूर्यग्रहण लाग्दा गर्नुपर्ने कुनै धार्मिक अनुष्ठान वा परम्परागत नियमहरू लागू हुँदैनन्,” उनले स्पष्ट गरे ।
सूर्यग्रहण तब हुन्छ जब चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुन्छ । पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यको प्रकाशलाई केही समयका लागि छेकेपछि, त्यो क्षेत्रमा अन्धकार देखिन्छ । चन्द्रमा हरेक महिनाजसो पृथ्वी र सूर्यको बीचमा आउँछ, तर सूर्यग्रहण हुनका लागि विशेष खगोलीय स्थिति मिल्नुपर्छ ।