‘वसन्त’को ट्रेलर सार्वजनिक

‘वसन्त’को ट्रेलर सार्वजनिक

काठमाडौं: राजधानीमा आयोजित एक कार्यक्रममार्फत नेपाली सिनेमा ‘वसन्त’को ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले नेपाली समाजमा व्याप्त जातीय छुवाछुत र त्यसले उत्पन्न गर्ने भयलाई कथाको रूपमा उजागर गरेको छ।

सिनेमामा स्कूले किशोरवय प्रेमीहरूको अन्तरजातीय सम्बन्धले रूढीवादी नेपाली समाजमा ल्याउने प्रतिक्रियालाई चित्रण गरिएको छ। साथै, नेपालले भोगेको द्वन्द्वसँग कथालाई जोडिएको छ, जसमा एक दृश्यमा जातीय विद्रोहका लागि माओवादी छापामार बनेकी स्वस्तिमा खड्कालाई देख्न सकिन्छ।

ट्रेलरको एक महत्वपूर्ण संवादमा प्रहरी अधिकारी बनेका अनुप बराल भन्छन्, “मान्छे कानुनसँग डराउँदैनन्, तर अन्धविश्वाससँग डराउँछ। अन्धविश्वास कानुनभन्दा माथि छ।” यसमा मुख्य पात्र प्रकाशले प्रतिप्रश्न गर्छ, “सर, मान्छेको जीवनभन्दा पनि माथि?” यस संवादले सिनेमाले गहिरो सामाजिक सन्देश दिने संकेत गर्दछ।

सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यस सोसल ड्रामा सिनेमाको कथा, पटकथा र संगीत निर्देशक सपुत स्वयंले तयार गरेका हुन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको एक युवाले लेखक बन्नका लागि गरेको संघर्षको कथा प्रस्तुत गर्नेछ।

सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली, र विरेन्द्र नारायण श्रेष्ठ छन्। सिनेमाका छायांकार सुसन प्रजापति हुन्।

बागलुङ, काठमाडौं, र तराईका विभिन्न स्थानहरूमा छायांकन गरिएको यो सिनेमा चैत २२ गते नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन हुँदैछ। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।