मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा अध्यादेश समर्थन गर्ने जसपाकाे प्रस्ताव

मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा अध्यादेश समर्थन गर्ने जसपाकाे प्रस्ताव

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा सरकारले ल्याएका अध्यादेशलाई समर्थन गर्ने प्रस्ताव राखेको छ।

नेपाली कांग्रेसका एक शीर्ष नेताकाअनुसार उपेन्द्र यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री दिने सहमतिसँगै अध्यादेशमा मत दिने सहमति बनेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलमा मधेश प्रदेशको मुख्यमन्त्री पद जसपा नेपाललाई दिने विषयमा सहमति भइसकेको स्रोतले जनाएको छ।

बिहीबार संघीय संसद्को दुवै सदनमा सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची तय गरिएको छ। प्रतिनिधिसभामा सहजै पारित हुने देखिए पनि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक भूमिकामा रहेको छ। जसपा नेपालले संघ र प्रदेश दुवै तहमा सरकारमा सहभागी हुनुपर्ने आफ्नो अडान दोहोर्याउँदै आएको छ।

सत्ता र प्रतिपक्ष दुवैले जसपा नेपाललाई आफ्नो पक्षमा ल्याउन सक्रिय पहल गरिरहेका छन्। बिहीबार बिहान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए। छलफलमा उनले मधेश प्रदेशको मुख्यमन्त्री पद आफ्नो दलले पाउने शर्त राखेका थिए। जसपा नेपालको संसदीय दलको बैठक बिहीबार दिउँसोदेखि जारी छ, जसले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने बताइएको छ।