

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना अवधिमा झण्डै ४ लाख नेपाली विदेसिएका छन्। साउनदेखि पुससम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले विदेश काम गर्न श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
पुस महिनामा मात्रै ६७ हजार जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन्। व्यक्तिगत तबरबाट १ हजार ८५ तथा मेनपावरबाट सहित कुल ६७ हजार २५८ जना वैदेशिक रोजगारीमा गएका हुन्।
विभागका अनुसार ६ महिनाको अवधिमा पुसबाहेक मात्रै व्यक्तिगत तबरबाट ५४ हजार ३७४, मेनपावरबाट १ लाख ३१ हजार ८५०, पुन श्रमस्वीकृतिबाट १ लाख ३५ हजार ४२५ तथा जीटुजीमार्फत ४ हजार १६० जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन्।
स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली श्रमिक विदेशिने गरेका छन्। राज्यले ल्याएका युवा र रोजगारमैत्री कार्यक्रम असफल भएका कारण रोजगारीको खोजीमा विदेशिनेको संख्या वृद्धि भइरहेको सरोकारवालाहरूले बताउँदै आएका छन्।