डा. देवकोटा रहेनन्, अन्तिम संस्कार मंगलबार दुई बजे

डा. देवकोटा रहेनन्, अन्तिम संस्कार मंगलबार दुई बजे

काठमाडौं, असार ४ । चिकित्सा क्षेत्रका एक होनाहार व्यक्तित्व देशले आज गुमाएको छ । थुप्रै नेपालीको जीवन बचाउने वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा अाज रहेनन् । पित्तनलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५।३५ बजे बाँसवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्त्वपूर्ण योगदान गरेका थिए । वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ । उनी स्वास्थ्य मन्त्री हुँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए ।

बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई वैशाखमा नेपाल ल्याइएको थियो । सो पश्चात् उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो । पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेकाले उनको निधन भएको हो । ६३ वर्षको उमेरमै उनले पाञ्चभौतिक शरीर त्याग्नु परेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन्। त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको थियो। उनी पित्त थैलीको क्यान्सरबाट ग्रस्त थिए।