गणेशमानको चेला हुँ, झुटाे कुरा बोल्न जानेको छैन : खेमराज पौडेल

गणेशमानको चेला हुँ, झुटाे कुरा बोल्न जानेको छैन : खेमराज पौडेल

कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले आफ्नो उम्मेदवारी कुनै व्यक्ति र पार्टी विरुद्ध नभएको बताएका छन्। उम्मेदवार पौडेलले सरकारका गलत कार्यलाई निरुत्साहित गर्दै लोकतान्त्रिक पद्धतिमा मुलुक संचालन हुनुपर्नेमा जोड दिंदै प्रजातन्त्र र लोकतन्त्रका लागि आफूले ६० वर्षदेखि लड्दै आएको स्पष्ट पारे।

‘आजसम्म ममाथि जुन विश्वास र भरोषा छ त्यसलाई मेरो प्राण रहुन्जेल दायाँवायाँ हुन दिन्न’, उम्मेदवार पौलेलको प्रतिवद्धता छ । आफू कांग्रेस संस्थापक एवं लौहपुरुष गणेशमान सिंहको चेला भएको भन्दै आफूले कहिल्यै झुट बोल्न नजानेको उनले स्पष्ट पारे।

उम्मेदवार बनेर चुनावी मैदानमा होमिंदै गर्दा उनले केही प्रतिवद्धता समेत जनाएका छन्। ‘म गर्नै नसक्ने र पूरा नहुने खालका आश्वासन दिन्न, जेजति सक्छु त्यतिमात्रै बोल्छु’, उनले भने।

केही अघि महानगरमा गाभिएका वडालाई विकसित बनाउँदै लैजाने उनको लक्ष्य छ। ‘न्यूरोडवासीले जुन सुविधा पाएका छन्, निर्मलपोखरीवासीले पनि त्यही सुविधा पाउनुपर्छ भन्ने पक्षमा छु। त्यहाँका सडक, खानेपानी, शिक्षा लगायतका समस्यामा म पूर्ण जानकार छु’, उनले भने। साथै उक्त क्षेत्रलाई स्वच्छ र हराभरा बनाउने, पर्यटकीय सम्भावना पहिचान गरि आवश्यकता अनुसार विकास गर्ने, पोखरा विश्वको प्रमुख पर्यटकीय गन्तव्य भएकाले सोही बमोजिमको भौतिक संरचना निर्माण गर्ने उम्मेदवार पौडेलको योजना छ।

अन्य दलका उम्मेदवारले विमानस्थल, रिङरोड, रेल, बसपार्क, सुकुम्वासी समस्या, वृद्धाभत्ता जस्ता विषयमा विचारै नगरी झुटा आश्वासन दिएको भन्दै पौडेलले त्यस्ता आश्वासनको पछि नलाग्न आग्रह गरे। ‘पोखराका सडक पञ्चायतकालमा पनि बनेका थिए, त्यो बेला केही साना थिए, अहिले आवश्यकता अनुरुप फराकिला बनेका हुन्’, उनले प्रश्न गर्दै भने, ‘अब पनि महेन्द्रपुल, न्यूरोड, नयाँबजारको सडक ठूलो बनाउँछु भनेर आश्वासन दिएर हुन्छ?’

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधा काम सकियो, के अब पनि विमानस्थलकै कुरा गर्ने ?’, उनको अर्को प्रश्न थियो। ‘बसपार्क र सुकुम्वासी समस्या कति जना सांसदको योजनामा परे, सरकारकै योजनामा पनि छ’, उनले भने, ‘पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सृजनाचोकमा आकाशे पुल बनाउने मेरो योजना छ।’ बसपार्क र सुकुम्वासी समस्यामा झुटा आश्वासन होइन, सबै पक्षसंग समन्वय गरी समाधानतर्फ लाग्नुपर्ने पौडेलको जोड छ।