

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाबाट जन्मेदेखि बाँचुन्जेलसम्मका लागि नागरिकलाई फाइदा पुग्ने बताउनु भएको छ ।
आज राजधानी काठमाण्डौँमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरु गर्दै प्रधानमन्त्री ओलीले २५ वर्षअघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरूलाई उडाउने गरे पनि आज सार्थक भएको दावी गर्नुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ ‘सरकार कहाँ छ भनेर प्रश्न गर्नेलाई गतिलो जवाफ भएको उहाँको भनाइ थियो । बिरामी, आम्दानी भएका र नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।
केही दिनअघि मात्र नेपाली काँग्रेसले सरकार कहाँ छ भन्दै पत्रकार सम्मेलनमार्फत प्रश्न गरेको थियो । प्रधानमन्त्री ओलीले जनता निराश हुनुपर्ने कुनै कारण नभएको र सरकार जनताले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले सकेको जति काम गरेको भन्दै आफ्नो नीति र कार्यक्रम अनुसार काम गरिरहेको दावी गर्नुभयो । मेलम्ची खानेपानी आयोजना पनि किन पूरा भएन भन्ने आलोचना आफूले सुनेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार गठन भएपछि दिनरात गरेर काम भइरहेको दावी गर्नुभयो । सरकार नीति, कार्यक्रम र भिजनमा स्पष्ट रहेको र कार्यान्वयनको दिशामा रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरूले ज्येष्ठ नागरीकलाई भत्ता दिँदा ढुकुटी रित्याएको आरोप समेत खेप्नुपरेको बताउनुभयो । सामाजिक सुरक्षाको योजनाले श्रम गर्ने सबैलाई समेट्नेमा जोड दिँदै प्रधानमन्त्रीले आम्दानी अपुग हुँदा थप आम्दानी र आम्दानी नै नहुनेले सहायक आम्दानीको रूपमा यसलाई प्रयोग गर्न पाउने धारणा राख्नुभयो । श्रमजीविको उच्च ज्याला लिने चाहना र श्रमदातादाताको उच्च उत्पादन गर्ने चाहनाले अव पूर्णता पाउने उहाँको टिप्पणी थियो ।