पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लागेको छ। देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा देशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो देशका हिमाली भू–भागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, सोमबार राति देशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

रातिको समयमा कोसी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।