

समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म आज २ गते पनि दसैँघर वा पूजाकोठामा दोहोर्याउनुपर्नेछ।
कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि तिथि वृद्धिका कारण धार्मिक कर्म भने अष्टमीकै विधिअनुसार गर्नुपर्ने उनले बताए। आज पनि नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा, आराधना गर्नुपर्नेछ भने महाअष्टमीका अन्य कर्मसमेत दोहोर्याउनुपर्ने उनको भनाइ छ।
यद्यपि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने व्यवस्था समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ।
अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बन्न पुगेको छ। यसअनुसार विजयादशमीका दिन टीका लगाउँदा १० रात्रिका जमरा लगाइनेछ। देवीको साधना, पूजा तथा आराधना गर्न एक दिन थपिँदैमा धार्मिक दृष्टिले कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।
राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने आज कात्तिक २ गते सोमबार राति गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्परालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।
हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेलगत्तै अर्को दिन महानवमीको पूजा, आराधनालगायत धार्मिक कर्म गर्ने परम्परा रहेकाले यस वर्ष पनि सोहीअनुसार व्यवस्था मिलाइएको उनले जानकारी दिइन्।
दरबार हेरचाह अड्डाका अनुसार हनुमानढोका दरबारको दसैँघरमा कात्तिक १ गते आइतबार महाअष्टमीको सामान्य पूजा गरिएको थियो। मुख्य पूजा भने सोमबार गरिनेछ।
महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा तथा आराधना गर्ने परम्परा रहँदै आएको छ।