

काठमाडौँ । दसैँ नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक पहिचान र पारिवारिक आत्मीयताको प्रतीक हो। मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने परम्पराले दसैँलाई पूजाआजामा मात्र सीमित राखेको छैन। यसले टाढिएका आफन्तलाई नजिक ल्याउने, पारिवारिक सम्बन्ध नवीकरण गर्ने र नयाँ पुस्तालाई संस्कारसँग जोड्ने कामसमेत गर्दै आएको छ।
विशेषगरी माइती, मावली र अन्य नातेदारबीचको सम्बन्ध प्रगाढ बनाउने माध्यमका रूपमा दसैँको छुट्टै महत्त्व छ। तर सहरीकरण, बसाइँसराइ, वैदेशिक रोजगारी र प्रविधिको विस्तारसँगै दसैँ मनाउने शैलीमा परिवर्तन आएको छ। पारिवारिक भेटघाटको समय छोटिँदै गएको छ भने भौगोलिक दूरीका कारण कतिपय परिवारका सदस्य प्रत्यक्ष भेट्नसमेत असमर्थ छन्। यद्यपि, शैली फेरिए पनि पारिवारिक आत्मीयता र सम्बन्धको महत्त्व घटेको छैन।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा दसैँ विभिन्न समुदायले आ–आफ्नै परम्परा र शैलीमा मनाउँछन्। असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र शक्तिको आराधनासँग जोडिएको यस पर्वले आपसी सद्भाव, सम्मान र सामाजिक एकताको सन्देशसमेत दिन्छ।
धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्गसँग दसैँ जोडिएको छ। घटस्थापनाबाट सुरु हुने नवरात्रका धार्मिक अनुष्ठान तथा विजयादशमीमा टीका र जमरा ग्रहण गर्ने परम्पराले यसको धार्मिक एवं सांस्कृतिक महत्त्व उजागर गर्छ। घटस्थापनाका दिन जौलगायत अन्नका बीउ छरेर जमरा उमार्ने चलनले कृषि जीवन, प्रकृति र उर्वरतासँगको सम्बन्धलाई समेत अभिव्यक्त गर्छ।
त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख डा. सोमप्रसाद खतिवडा दसैँ नेपाली समाजको पहिचानसँग जोडिएको राष्ट्रिय पर्व भएको बताउँछन्। उनका अनुसार चाडपर्वका आफ्नै सांस्कृतिक र वैज्ञानिक पक्ष हुन्छन्। समयसँगै मनोरञ्जनका साधन र पर्व मनाउने शैली फेरिए पनि परम्पराले समाजलाई जोड्ने काम गरिरहेको छ।
“नेपाली भनेर चिन्ने आधारमध्ये चाडबाड पनि हो। दसैँ नेपालीको पहिचानसँग जोडिएको छ। राज्यका तर्फबाट पनि यस पर्वमा ठूलो लगानी हुन्छ। शक्तिपीठमा पूजा तथा बलि दिने र गुठीबाट अनुदान प्रदान गर्ने परम्परा यससँग सम्बन्धित छन्,” डा. खतिवडाले भने।
उनका अनुसार अहिले मनोरञ्जनका माध्यम र साधन थपिएका छन्। दसैँ मनाउने शैली र सहभागितामा परिवर्तन आए पनि यसको सांस्कृतिक महत्त्व कायम छ। कृषि जीवनको प्रभाव पनि दसैँका परम्परामा देख्न सकिन्छ।
परम्परागत नेपाली समाजमा खेतीपातीको काम सकेपछि चाडपर्व मनाउने चलन थियो। अन्न उत्पादन, सामूहिक श्रम र प्रकृतिप्रतिको निर्भरताले मानिसको जीवनशैली निर्धारण गर्ने समयमा दसैँले परिवार र समुदायलाई एकै ठाउँमा ल्याउँथ्यो। अहिले कृषि जीवनको स्वरूप फेरिए पनि जमरा राख्ने र विजयादशमीमा त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्पराले पुरानो सांस्कृतिक स्मृतिलाई निरन्तरता दिइरहेको छ।
भाषाविद् तथा साहित्यकार डा. बलदेव अधिकारीका अनुसार दसैँले विशेषगरी माइती, मावली र अन्य नातेदारबीचको सम्बन्धलाई जीवन्त राख्छ। विगतमा रोजगारीका लागि लाहुर गएकाहरू पनि दसैँ मनाउन घर फर्कने गरेको स्मरण गर्दै उनी विभिन्न समुदायमा टीका लगाउने र आशीर्वाद दिने चलन फरक भए पनि पारिवारिक सम्बन्धको महत्त्व समान रहेको बताउँछन्।
“दसैँ सबै जातिको पर्व हो। यसले माइती र मावलीको सम्बन्धलाई प्रगाढ बनाउँछ। पहिले लामो समय तयारी गरेर सरसामान जुटाई दसैँ मनाइन्थ्यो। आफन्तकहाँ जाने, टीका लगाउने र आशीर्वाद लिने चलनले कुटुम्ब सम्बन्धलाई निरन्तरता दिन्थ्यो,” डा. अधिकारीले भने।
उनका अनुसार पहिले बरखी बार्ने परिवारका सदस्यबाहेक अन्य छोराछोरीसमेत मामाघर गएर टीका लगाउने गर्थे। अहिले भने नातागोतामा जुठो वा सुतक परेका विषयलाई लिएर कतिपयले चाडपर्व मनाउनै छाड्ने गरेका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि आफन्तकहाँ जाने र टीका लगाउने परम्परालाई झन्झट मान्ने प्रवृत्ति बढेको उनको भनाइ छ।
दक्षिणा र खर्चको प्रतिस्पर्धाले चाडपर्वको आत्मीय पक्ष कमजोर हुन सक्नेमा उनी चिन्ता व्यक्त गर्छन्।
“पहिले दसैँका लागि लामो समयदेखि तयारी गरिन्थ्यो। अहिले पैसा भए रोजै मासु खाने र दक्षिणामा प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको छ। दसैँको वास्तविक महत्त्व खर्च र प्रदर्शनमा होइन, सम्बन्ध र परम्परामा छ,” उनले भने।
डा. अधिकारीका विचारमा सहरीकरण र बसाइँसराइका कारण परिवारका सदस्य विभिन्न स्थानमा छरिनु, कोही विदेशमा रहनु र कोही गाउँमै बस्नुले पारिवारिक भेटघाटको स्वरूप बदलिएको छ। दसैँको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व नयाँ पुस्तालाई बुझाउन शिक्षा प्रणालीमा यस विषयलाई समेट्नुपर्ने उनको सुझाव छ।
परम्परागत नेपाली समाजमा दसैँ सामूहिक सहभागिताको पर्व पनि थियो। गाउँघरमा पिङ हाल्ने, छरछिमेकसँग भेटघाट गर्ने, सामूहिक मनोरञ्जन गर्ने र स्थानीय मेलामा सहभागी हुने अभ्यासले सामाजिक सम्बन्धलाई बलियो बनाउँथ्यो। ज्येष्ठ सदस्यको सम्मान, बालबालिकाप्रतिको स्नेह र आफन्तबीच सहयोग आदानप्रदान गर्ने परम्पराले समुदायमा अपनत्वको भावना विकास गर्थ्यो।
तर संयुक्त परिवारको स्थानमा एकल परिवारको विस्तार, रोजगारी तथा अध्ययनका लागि विदेश जाने प्रवृत्ति र सीमित बिदाका कारण दसैँ मनाउने समय र तरिका फेरिएको छ। पहिले लामो समय आफन्तसँग बसेर मनाइने पर्व अहिले कतिपय परिवारमा छोटो भेटघाटमा सीमित हुन थालेको छ। यद्यपि, विदेशमा रहेका आफन्तसँग भिडियो कल गर्ने र सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गर्ने चलनले भौगोलिक दूरीका बाबजुद सम्बन्ध कायम राख्न सहयोग पुर्याएको छ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका महासचिव डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) संस्कृतिका सकारात्मक पक्ष संरक्षण गर्दै समयअनुकूल सुधार गर्नुपर्ने बताउँछन्। उनका अनुसार चाडपर्वलाई अनावश्यक खर्च, ऋणको बोझ र देखावटी प्रतिस्पर्धाको माध्यम बनाउनुको सट्टा आत्मीयता, सहयोग र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने अवसरका रूपमा विकास गर्नुपर्छ।
प्रगतिशील लेखक सङ्घका कोषाध्यक्षसमेत रहेका डा. सुवेदी सांस्कृतिक विविधतालाई विभाजनको आधार नभई आपसी सम्मान र साझा समृद्धिको स्रोतका रूपमा लिनुपर्ने धारणा राख्छन्। संस्कृतिका नाममा हुने विभेद र अमानवीय अभ्यास हटाउँदै समानता, सहअस्तित्व, स्वतन्त्रता र सामाजिक न्यायका मूल्यलाई बलियो बनाउनुपर्नेमा उनको जोड छ।
दसैँको स्वरूपमा उपभोक्तावादी जीवनशैलीको प्रभाव पनि देखिएको छ। नयाँ लुगा, मीठा परिकार र उपहार आदानप्रदान परम्परागत रूपमा चाडपर्वका हिस्सा भए पनि महँगो किनमेल र अरूको देखासिकीले कतिपय परिवारमा आर्थिक दबाब सिर्जना गरेको छ। चाडपर्वको खुसी खर्चको आकारमा नभई सम्बन्धको न्यानोपन, सहयोग र पारिवारिक सन्तुष्टिमा निर्भर हुन्छ भन्ने चेतना