

काठमाडौं । बढ्दो महँगी, विद्यालयमा कमजोर भौतिक पूर्वाधार र शिक्षक अभावको विरोधमा फ्रान्सभर भएको प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार देशका विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि प्रहरीले कम्तीमा १ हजार २०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।
बीबीसीका अनुसार आन्दोलनमा करिब ५ लाख ५० हजार नागरिक सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा भएका झडपमा १५० जना प्रहरी घाइते भएको प्रधानमन्त्री सेबास्टियन लेकोर्नुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
राजधानी पेरिसमा दिउँसो शान्तिपूर्ण रहेको प्रदर्शन साँझ पर्दै जाँदा हिंसात्मक बनेको थियो। प्लेस डे ला रिपब्लिकलगायत प्रमुख सार्वजनिक स्थलमा प्रदर्शनकारीले सवारीसाधन र सडकमा आगजनी गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठीचार्ज प्रयोग गरेको थियो। झडपका क्रममा दर्जनौँ पसलमा तोडफोड तथा लुटपाट हुनुका साथै कम्तीमा एउटा रेस्टुरेन्टमा आगो लगाइएको छ।
पेरिसबाहिरका सहरमा समेत हिंसात्मक घटना भएका छन्। लिमोज सहरको टाउन हलमा आगजनी हुँदा भवनको छानाको केही भाग भत्किएको छ। लियोनस्थित ऐतिहासिक पर्यटकीय कार्यालयमा पनि आगजनी गरिएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै लियोनका मेयर ग्रेगोरी डोसेटले यसलाई ‘हृदयविदारक विपत्ति’ भनेका छन्।
लियोनमा प्रदर्शनकारीले आगो निभाउन पुगेका दमकलकर्मीलाई समेत अवरोध गरेको समाचारमा उल्लेख छ। दक्षिणपूर्वी सहर सेन्ट–इटियेनमा भएको सानो विस्फोटमा एक युवकको हात गम्भीर रूपमा क्षतिग्रस्त भएको स्थानीय मेयरले बताएका छन्। यस्तै, लिल सहरस्थित एप्पल स्टोरमा तोडफोड र लुटपाट भएको छ।
फ्रान्समा पछिल्ला केही सातादेखि माध्यमिक विद्यालयमा शिक्षकको अभाव र कमजोर भौतिक पूर्वाधारविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका थिए। बढ्दो महँगीले सर्वसाधारणको दैनिक जीवनयापन थप कठिन बनेपछि आन्दोलनमा व्यापक जनसहभागिता बढेको हो।
आन्दोलनमा विभिन्न ट्रेड युनियन र सन् २०१८ मा महँगीविरुद्ध व्यापक प्रदर्शन गरेको ‘एलो भेस्ट’ अर्थात् पहेँलो ज्याकेट समूहसमेत सहभागी भएपछि प्रदर्शन देशव्यापी बनेको बताइएको छ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार पेरिस, मार्सेली, रेन्स, तुलुज, एन्जर्स र ग्रेनोबललगायत सहरमा मुखौटा लगाएका समूहले सरकारी तथा व्यावसायिक संरचनामा क्षति पुर्याएका छन्।
फ्रान्समा जारी अशान्तिलाई आगामी राष्ट्रपतीय निर्वाचनको राजनीतिक पृष्ठभूमिसँग जोडेर पनि हेरिएको छ। राष्ट्रपति इमानुएल म्याक्रोँले आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
प्रधानमन्त्री लेकोर्नुले केही समूहले राष्ट्रपतीय निर्वाचनको पूर्वाभ्यासका रूपमा हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।
यता, वामपन्थी नेता जिन–लुक मेलान्शोनले लुटपाट र आगजनीको विरोध गर्दै प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको आरोप लगाएका छन्। दक्षिणपन्थी नेतृ म्यारिन ले पेनले भने प्रदर्शनकारीका जायज मागलाई अतिवामपन्थीहरूले आफ्नो प्रभावमा पारेर हिंसा मच्चाएको टिप्पणी गरेकी छन्।
यसअघि अक्टोबर ८ मा फ्रान्सका शिक्षामन्त्री एडुवार्ड जेफ्रेले विद्यालयमा तत्काल ३ हजार अस्थायी शिक्षक थप गर्ने घोषणा गरेका थिए। तर, शिक्षक अभाव, कमजोर शैक्षिक पूर्वाधार र महँगीविरुद्धको असन्तुष्टि मत्थर हुन नसक्दा परिस्थिति थप जटिल बनेको छ।
प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्स सरकारमाथि सार्वजनिक सुरक्षा कायम राख्ने र आन्दोलनकारीका माग सम्बोधन गर्ने दोहोरो चुनौती थपिएको छ।